मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्याको दोषी ठहर गर्दै धनुषाका ३६ वर्षीय सुरजदेव शाहलाई मृत्युदण्ड दिने फैसला गरेको छ । शाहले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर. हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट १७ तारिखमा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले भने शाहको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा पुनरावेदन गरिसकेको छ ।

हारिधासको २ डिसेम्बर २०१६ मा हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । शाह हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए । सन् २००६ मा मलेसिया पुगेका शाह ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । शाह मलेसिया भाषामा दख्खल राख्छन् । मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ ।