नेपालको उत्कृष्ट सिगिङ्ग रियालिटी शो नेपाल आईडल सिजन ३ को ग्राण्ड फिनाले आज हुदैछ । आज बेलुका नेपाल आईडलको स्टुडियोमा आयोजना हुने फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । उत्कृष्ट ३ मा मोरङबाट सज्जा चौलागाईं, बर्दियाबाट प्रवीण बेडुवाल र बर्दिबासबाट किरणकुमार भुजेल पुगेका छन् ।

नेपाल आईडलमा हजारौंबाट छानिएर उत्कृष्ट ३ मा आईपुगेका उनीहरूले पाएको भोटको आधारमा विजेता घोषणा हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै आज हुने फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा न्ह्युु वज्राचार्य , इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।