Comments Add Comment

मानसिक र शारीरिक रूपमा स्वस्थ हुने उपाय

विभिन्न रोगबाट बच्न र स्वस्थ जीवनयापन गर्न शारीरिक रूपमा मात्रै स्वस्थ भएर पुग्दैन । व्यवस्थित जीवनशैलीका लागि मानसिक रूपमा पनि उत्तिकै स्वस्थ हुन जरूरी छ । धेरै दुःखी हुने र चिन्ता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ  । यस्तो बानीले जीवनयापनमा समस्या ल्याउँछ । त्यसैले शरीर, दिमाग र मनलाई स्वस्थ राख्न सके मात्रै स्वस्थ जीवनशैली जिउन सकिन्छ । स्वस्थ र व्यवस्थित जीवनशैलीका यी उपाय अपनाउँदा उचित हुन्छ । 

सन्तुलित भोजन
स्वस्थ जीवनका लागि स्वस्थ र सन्तुलित भोजनको आवश्यकता पर्छ । शारीरिक ऊर्जाको लागि चामल, चिउरा, गहुँ, आलुजस्ता कार्बोहाइड्रेडयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । शरीरको वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराको पनि नियमित प्रयोग गर्नुपर्छ । एउटै खानेकुरा धेरै खानुभन्दा थोरै–थोरै तर भिन्न खालका परिकार खानु शरीरका लागि स्वस्थकर मानिन्छ । शरीरलाई चाहिने पौष्टिक आहार नियमित खानाले विभिन्न रोग लाग्नबाट बचाउँछ । नियमित रुपमा हरियो सागसब्जी, सलाद खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ । 

साँझको समयमा हल्का खालका खानेकुरा खानुपर्छ । शरीरलाई झोल पदार्थको पनि उत्तिकै आवश्यकता पर्छ । प्रशस्त पानी, ताजा जुस, मोही, सुपमा जोड दिनुपर्छ । रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुवैलाई असर गर्छ । मोटोपनले रक्तचाप र सुगर रोग निम्त्याउने सम्भावना हुन्छ । स्वस्थकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना घटाउन सहयोग गर्छ । स्वस्थ रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । 

शारीरिक क्रियाकलाप
शारीरिक क्रियाकलपले स्वस्थ रहन मद्दत गर्छ । दैनिक हिंड्दा, खेतबारीको काम गर्दा, ‘लिफ्ट’को साटो भर्‍याङको प्रयोग गर्दा शरीरलाई चाहिने आवश्यक कसरत हुन्छ । खेल खेल्दा, योगा, प्रणायाम गर्दा, साइकिल चलाउँदा पनि शरीरलाई फाइदा पुग्छ । स्वस्थ रहनका लागि युवा उमेरको व्यक्तिले दैनिक करीब ४५ मिनेट सक्रिय व्यायाम गर्नुपर्छ । व्यायामले मुटु तथा फोक्सोको रोग लाग्ने सम्भावनालाई कम गर्छ । 

प्रशस्त पानी पिउने 
स्वस्थ रहनको लागि शरीरमा पानीको मात्रा प्रशस्त हुनुपर्छ । शरीरलाई आवश्यक पर्नेभन्दा बढी पानी पिउँदा भने असर पुग्न सक्छ । धेरै पानी एकैपटक पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ । सामान्यता एक घण्टामा एक गिलास पानी पिउँदा राम्रो हुन्छ । त्यस्तै, बिहान उठ्नसाथ एक गिलास मनतातो पानी पिउँदा शरीरलाई फाइदा हुन्छ । 

सकारात्मक विचार
स्वस्थ जीवनशैलीका लागि सकारात्मक विचार पनि अत्यावश्यक छ । सकारात्मक सोचले शरीर स्वस्थ राख्नुका साथै सफल हुन पनि मद्दत गर्छ । सकारात्मक सोचले अवसरको पनि सिर्जना गर्छ । सकारात्मक सोचले व्यक्तिलाई सुखी र खुसी राख्न सघाउ पुर्‍याउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर