काठमाडौं – नेपालमा बिहीबार थप ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ७ सय ७ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन् । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । यस्तै, कुल १७ हजार ९६४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । बिहीबार २५४ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ रहेको छ ।