काठमाडौं – सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् । त्यसक्रममा उनले काठमाडौं उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान सञ्चालन गर्ने निर्णय गरेको जनाकारी गराए ।

उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी एउटै जिल्लाभित्र सवारी साधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउनेछन् ।

ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ ।