विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।

डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ।

विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो।

अहिले नै कैयौँ देशमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन्।

कस्तो मास्क?

डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले समाचारसंस्था रोएटर्स सँग कुरा गर्दै आफूहरूले सर्वसाधारणलाई ‘मेडिकल मास्क नभई कपडाको न मास्क’ लगाउन सुझाएको बताइन्।

सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ।

उसका अनुसार पछिल्लो सुझाव हालैका साताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन्।

“हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ,” कर्खोभले भनिन्।

यसबीच डब्ल्यूएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ।

“मास्क मात्रैको प्रयोगले कोभिड-१९ बाट जोगाउँदैन,” डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयससले भने।

विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै चार लाख मानिसको ज्यान गएको छ।

स्रोत : bbc