‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौला ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा सहभागी भएका छन्। उक्त चर्चित शोमा निरौलाले आफ्नो सिग्नेचर गीत गाएर सबैलाई आकर्षित तुल्याउन सफल भएका छन्।

भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सन्डे मर्निङ लव यु गीत गाएका हुन्। उनको गीतलाई दर्शक दीर्घाले उठेर हात हल्लाउदै साथ दिनुका साथै ताली बजाएर स्वागत गरेको थियो।

भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक र अन्य तीन जना निर्णायकबाट प्रशंसा बटुल्न सफल भएका थिए।

भीमले गाउदै गर्दा कार्यक्रमका उद्घोषकलगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेको देखिन्छन्।

निरौला अहिले बेलायती मिडियामा ‘सिक्रेट युट्युब एण्ड रियालिटी स्टार’ को रुपमा परिचित भएका छन्।
सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन्।

निरौलाले बि स २०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका छन्। उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो।

सन् २०१३ मा युट्युबमा अपलोड गरिएको उनको यो गीत ६० लाख भन्दा बढीले हेरिसकेका छन्।

‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुती दिन पाउनुका साथै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन्।