Breaking
4 Dec 2024, Wed

अस्पतालहरुमा ओ.पी.डी. सेवा बन्द नहुने

सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो । यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा आगामी चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । यसबाट अस्पतालहरुमा ओपीडी सेवा सञ्चालन गर्ने वा नगर्ने विषयमा द्विविधा उत्पन्न भएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा ओपीडी सेवा सञ्चालनमै रहे पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी अस्पतालमा भीडभाड कम गर्नका लागि अस्पतालले प्रदान गरिरहेका विस्तारित स्वास्थ्य सेवालाई २ साता बन्द गर्न आग्रह गरिएको छ । त्यस्तै, मन्त्रालयले अत्यावश्यक बाहेकका शल्यक्रिया र फलोअपका लागि आउने बिरामीलाई २ साताका लागि फलोअपमा नबोलाउन आग्रह गरेको छ । मन्त्रालयले हरेक अस्पताललाई ज्वरो आएका बिमारीहरुलाई लक्षित गरी फिभर क्लिनिक स्थापना गर्न समेत आग्रह गरेको छ ।

Ad
Ad