प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता संसदको कार्यसूचीमा राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग एमसीसीलाई संसदको कार्यसूचीमा राख्ने बारे चासो राखेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी जानकारी दिएका छन् ।

‘प्रधानमन्त्री ज्यूले सभामुख ज्यूसँग एमसीसीलाई कार्यसूचीमा राख्ने बारे चासो राख्नु भएको हो’ सचिवालय स्रोतले भन्यो,‘उहाँले सभामुखसँग यसको बारेमा के गरिरहनु भएको छ रु भनेर सोध्नु भएको हो ।’ जवाफमा सभामुख सापकोटाले ‘सल्लाह गर्छु’ भनेको स्रोतको भनाइ छ । सत्तारुढ दल नेकपाले एमसीसीबारे अध्ययन गर्नका लागि कार्यदल बनाएको र त्यसले प्रतिवेदन दिइनसकेको कारण सभामुख भने ‘पर्ख र हेर’को अवस्थामा रहेको हुनसक्ने आशंका प्रधानमन्त्रीले गरेको सचिवालयले स्रोतको भनाइ छ । पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गरेर एमसीसी अध्ययनका लागि कार्यदल बनाएकोप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् । केही दिनअघि ९ वाम दलसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले साढे दुई वर्ष अघि भएको सम्झौतामा अहिले आएर अध्ययन कार्यदल बनाइनु मजाकको विषय भएको बताएका थिए । त्यसकारण प्रधानमन्त्री ओली कार्यदलको प्रतिवेदनलाई कुरेर बस्ने पक्षमा भने देखिएका छैनन् ।