आउदो फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल बढ्दो छ। शिवरात्रिमा नेपालका विभिन्र भागबाट मात्र नभइ भारतका विभिन्न स्थानबाट पनि हजारौंको संख्यामा साधुसन्तहरु पशुपतिनाथ क्षेत्रमा आउने गर्छन्।
भारतका विभिन्न स्थानबाट आउने साधुहरुका लागि पशुपति क्षेत्र विकास कोषले खाने र बस्ने उचित व्यवस्था गरेको छ।
शिवरात्रि पर्वका दिन भगवान् शिवलाई खुशी पार्न उनका भक्तहरुले प्रिय वस्तु दूध‚ धतुरो र बेलपत्र चढाउने गरिन्छ । यो दिन केही साधुहरू खरानीले छोपिएका हुन्छन्।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ९ शुक्रबारका दिन परेको छ। पशुपतिनाथ क्षेत्रमा रहेका साधुबाबाका विभिन्न प्रकारका गतिविधि हेर्न र उनीहरूका क्रियाकलापहरू हेर्न भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ।