नेपाल टेलिकमले ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने उदेश्यले आफ्नु फोरजी सेवालाई बिस्तार गरेको छ । टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गरेको छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध थियो ।
फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । ‘यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिने छ,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।
वैद्यका अनुसार अब टेलिकमका ग्राहकहरुले जम्मा २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन् । यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो । यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ ।
यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ ।
साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमका प्रवक्ता वैद्यले बताइन् ।
नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो । बुधबारबाट यो सेवा ३२ जिल्लामा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह सहज हुने नेपाल टेलिकमको दाबी छ ।
‘मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ,’ टेलिकम प्रवक्ता वैद्यले भनिन्, ‘विस्तारित फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ ।’
हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी/एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने टेलिकमको विश्वास छ ।