काठमाडौं । सूर्यको उपासना गरी चार दिनसम्म मनाइने  छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो । यता काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।