
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिबिना नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन्। महिला मन्त्रालयमा रहेका पार्वत गुरुङ्गलाई रिक्त रहेको सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व दिएका छन्।
तर मन्त्रालय र मन्त्री तोक्ने यी विषयमा आफूसँग कुनै सहमति नभएको पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ छ। ‘मसँग कुनै सहमति लिइएको छैन,’ नेकपाका सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने। प्रधानमन्त्री ओली र प्रचण्डबीच बुधबार पनि बालुवाटारमा साढे दुई घण्टा छलफल भएको थियो। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएपनि कुनै सहमति नभएको ती नेताले बताए। प्रधानमन्त्री ओलीले भने प्रचण्डसँग अर्थमन्त्री नहुँदा सरकार सञ्चालनमै अप्ठेरो परेको भन्दै तत्काल मन्त्रीहरू थप्नु पर्ने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




