सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्र खुल्ला हुने भएको छ । तत्काल नयाँ आवेदन खुल्ला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुल्ला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हँुदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ । विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ । यो गोरखापत्र दैनिकमा समाचार छ ।