2025-11-19 9:19 am

शारदा मावि मकवानपुरगढीको स्वर्ण महोत्सवमा एक सातासम्म ५८ कार्यक्रम

हेटौंडा -मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा अवस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले उक्त महोत्सव मंसिर १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरेको विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक कार्कीले जिल्ला, गाउँपालिका र विद्यालय स्तरीय गरी ५८ वटा कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, शिक्षक चेस प्रतियोगिता, खुल्ला चेस प्रतियोगिता, भूपू विद्यार्थी मित्र मिलन, विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सांस्कृतिक कार्यक्रम, विद्यालय वृतचित्र प्रदर्शन, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन, विद्यालय गान निर्माण, छात्रवृत्ति वितरण, स्मृति चिन्ह अनावरण, अभिभावक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधिहरू हुनेछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाका अनुसार महोत्सवका कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विद्यालयले यसअघि दुई दिन देउसी भैलो कार्यक्रममार्फत १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको र बाँकी रकम वडा तथा पालिकाको सहयोगबाट व्यवस्थापन गरिने उनले बताए । साथै, सम्भव भएसम्म कम खर्चमा कार्यक्रम सम्पन्न गरी बाँकी रकम विद्यार्थी छात्रवृत्ति कोषमा राख्ने योजना रहेको पनि उनले स्पष्ट पारे ।

त्यस्तै, वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दहालले विद्यालयको स्वर्ण महोत्सवका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी गर्दै आएको र विद्यालयको ऐतिहासिक योगदानलाई सम्मानस्वरूप सहयोग प्रदान गरिएको उल्लेख गरे ।

पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष दिपेश दहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रदेश समिति उपाध्यक्ष हरि हुमागाई, विद्यालय समितिका सदस्य हिरामणी दाहाल, पिटी अध्यक्ष नवराज हुमागाई लगायतको उपस्थिती रहेको थियो ।

हाल विद्यालयमा ५१४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

About the Author

Ad
Ad