त्रिदेशीय फुटबल (थ्री नेसन्स) कपको उपाधि नेपालले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेका थिए । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी रहेका थिए ।

मकवानपुरे खेलाडी सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो । नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन । यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे ।