मकवानपुरको फापरबारीमा जारी चौथो बागमती गोल्डकपमा सोमबार भएको खेलमा अफ्रिकन रूट एसोसिएसन क्यामरुन विजयी भएको छ । क्यामरुनले विर्तामोड युनाइटेड क्लव झापालाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी बेस्सेकले खेलको १९ औं र ३३ औं मिनेटमा दुई गोल गर्दै टिमलाई अग्रता दिएको थियो ।

पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा थप क्यामरुनका तर्फबाट जर्सी नम्बर ७ का एल्जिमीले खेलको ५३ औं मिनेटमा र जर्सी नम्बर १५ का म्बाकोपीले ६५ औं मिनेटमा थप २ गोल गर्दै सानदार जित दिलाएका थिए । खेलको अन्तिम ८६ औं मिनेटमा झापाको तर्फबाट जर्सी नम्बर १ का सुनिल गुरुङले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच क्यामरुनका जर्सी नम्बर १३ का बेस्सेक घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । भोली मंगलबार हिमालयन शेर्पा क्लब काठमाडौ र बागमती युवा क्लब सर्लाही बीच खेल हुने आयोजकले जनाएको छ ।