जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर वर्षा सक्रिय हुँदै गएकाले पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतबार सूचना जारी गर्दैै पहिरो र नदी किनारमा थप सतर्कता अपनाउन अग्रह गरेको हो।

महाशाखाले आगामी ३ दिन देशभर मौसम थप सक्रिय रहि वर्षा हुने जनाएको छ। मुलुकभर पहिरो जान थालेको र बाढीले जनधनको क्षति पुर्‍याइरहेको खबर आइरहेका बेला महाशाखाले केही दिनसम्म थप सतर्कता अपनाउन आग्रह गरेको हो। ‘साना खोलामा बाढीको जोखिम यथावत छ। स–साना खोलाका तटीय क्षेत्र वा छेउछाउ सतर्कता कायम राखौं,’ आइतबार ट्विट गर्दै महाशाखाले भनेको छ।

साथै महाशाखाले अबको एक हप्तासम्म नदी किनारमा बहाव बढ्दै जाने उल्लेख गर्दै तटीय क्षेत्रमा असार २८ भित्र कृषिउपज थन्काउन पनि अनुरोध गरेको छ। निर्माणका कार्य उच्च सतर्कताका साथ गर्न पनि महाशाखाको आग्रह छ।