नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसँग खेल्दैछ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे खेल हुँदैछ ।
फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरर्गत जोर्डनसँगको ‘अवे’ खेलमा आज नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

आफूभन्दा फिफा वरियतामा ६३ स्थान माथिको टोलीसँग खेल्न लागेको नेपाल तेस्रो पटक विश्वकप छनोटमै जार्डनसँग खेल्दैछ । आजभन्दा ८ बर्ष अगाडि जार्डनसँगको खेलमा मैदान उत्रिएका ५ जना नेपाली खेलाडी अहिले पनि सक्रिय खेलाडी छन् । राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जन, उपकप्तान भरत खवास, किरण कुमार चेमजोङ, सुजल श्रेष्ठ र रोहित चन्द अहिले २०११ मा भएको जार्डनविरुद्धको खेल खेलेका थिए ।

यसमध्ये विराज महर्जन र भत खवास भने आज जोर्डनसँग खेल्ने टोलीमा छैनन् । विराज फिटनेसका कारण टोलीमा नरहँदा भरत आर्मीको क्याम्पमा व्यस्त रहेकाले टोलीमा छैनन् । तर, रोहित चन्द, सुजल श्रेष्ठ र किरण कुमार चेमजोङ अहिले नेपाली टोलीका महत्वपूर्ण खेलाडीको भूमिकामा रहेका छन् ।

यसअघि नेपालले जोर्डनसँ सन् २०११ जुलाई २३ र २८ मा खेलेको थियो। त्यतिबेला नेपाली टोलीले उसैको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो भने काठमाडौंमा भएको होम गेममा १–१ गोल बराबरी खेलेको थियो।