काठमाडौँ – संगीतकार तथा गायक राजनराज शिवाकोटीले आफ्नो नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक गरेका छन्। गीत राजनको आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। यसमा शब्द, संगीत र स्वर राजनकै रहेको छ।

गीतमा राजनलाई गायिका डि क्याप्टेन वियोन्सेले साथ दिएकी छिन्। वियोन्से यसअघि राजनकै चर्चित गीत ‘फूलबुट्टे सारी’ गाएर धेरैको मन जित्न सफल भएकी थिइन्। उनीहरूले सहकार्य गरेको अर्को गीत ‘ल्यासे पाउँ’ पनि निकै लोकप्रिय बनेको थियो।

यसपटक सार्वजनिक भएको गीत ‘माया गर्न जान्यो मायाले’ ले टिकटकमा राम्रो प्रतिक्रिया पाएको छ भने युट्युबमा पनि गीतले उल्लेखनीय साथ पाउने आशा गरिएको छ।

गीतको भिडियोलाई राजुजंग बस्नेतले निर्देशन गरेका हुन्, भने छायांकन अभेसमनी बज्राचार्यले गरेका छन्। भिडियोमा राजन र वियोन्सेको अभिनयले कथालाई जीवन्त बनाएको छ। राजनको नयाँ प्रस्तुतिले पुनः दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।