Comments Add Comment

कविता : सडकको आवाज – असीम सागर

कृपया
त्यो सातौं तलाको झ्यालबाट
बाहिर नथुक्नु होला

तल सडकपेटीमा
केही असहाय फुलेका केशहरु
हात या खुट्टा नभएका केही जोर आँखाहरु
र दृष्टिविहिन भोका पेटहरु
एकगास उज्यालोको पर्खाईमा छन्
उनीहरुकै छेऊमा बसेर
खुईलिएका मुजेत्राहरु साग बेच्दैछन्
उध्रिएका कमिजहरु मोजा बेच्दैछन्
हजारौं जुत्ता चप्पल र टोपीहरु
सडकमा आवत जावत गर्दैछन्
कृपया
त्यो सातौं तलाको झ्यालबाट
बाहिर नथुक्नुहोला

बाढीले वनमारा र सिस्नोमात्र बगाउन्न
पहिरोले घरको अाँगन र मैरोमात्र पुरिन्न
अलिकति फर्सीको बोटले मुण्टो उठायो कि
निमोठ्नु हुन्छ तपाईं
फैलिन खोज्यो कि दुबो उखेल्नु हुन्छ तपाईं

खेतका गह्रा झैं पट्पटी फुटाएर बाजेले कुर्कुचा
घाँस, दाउराका भारीले पिल्साएर बजैले ढाँड
बाबुलाई साक्षर बनाउनु भएको हो
बाबु साक्षर भएपछि मात्र
शहर पस्नु भएको हो तपाईं
र बनाउनु भएको हो त्यो सातौंतलाको विल्डिङ
याद राख्नुस्
माथि बसेर जहाँ थुकिरहनु भएको छ
त्यही धुलोबाट
बाजेको करङ् टेकेर उक्लिनु भएको हो तँपाई

भर्खरै केही भग्नावशेषबाट
नलि हाड र खुट्टाहरु उद्धार गरिएका छन्
धरहरा जत्तिकै अग्ला नाकहरु विस्थापित भएका छन्
सुकिला सुट र टाईहरु राहतको पर्खाईमा छन्
अझै केही चौडा छातीहरु
त्यो धुलोबाट निकाल्न बाँकी छ
मैले ज-जसको लास गाडेर
अर्थात जलाएर आएँ
अहँ! कसैको हातमा कन्तुरको चाँबी
र जमीनको लालपुर्जा देखिन

यसरी भाँच्छ
निर्मोही बतासले सुनाखरीको हाँगा
हाँगा भाँच्चिएपछि
फूललाई पानी छम्कनुको कुनै अर्थ छैन
कृपया
त्यो सातौं तलाको झ्यालबाट
बाहिर नथुक्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर