बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत फेला परेका छन् ।
प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो ।
मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ । घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ । एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरिक्षक एन्ड्रु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्, “यो निकै दुःखद् घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ ।”
“हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौं । तर यो केही लामो हुनसक्नेछ ।,” मारिनरले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ । उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ । ट्रक चालकलाई सुरक्षा नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान जारी राखेको छ ।