हेटौँडा – पहिलो पाइला शिशु स्याहार केन्द्र, हेटौँडा–५ को आयोजनामा ‘फस्ट किड्स समर क्याम्प 2025’ भव्य रूपमा सम्पन्न भएको छ। हेटौँडा एकेडेमीको सहयोग तथा रेडियो थाहा संचारको मिडिया पार्टनरसिपमा आयोजित उक्त कार्यक्रम हेटौँडा–११ स्थित होटल स्मारकमा सम्पन्न भएको हो।

समर क्याम्पमा जादुगर बलराम सरकारको लाइभ म्याजिक शो, स्थानीय कलाकार दीपेश श्रेष्ठको सांगीतिक प्रस्तुति, नृत्य, पेन्टिङ, मेहेन्दी, पौडी, शिल्पकला लगायतका विविध र सिर्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख श्री बद्रीबहादुर पाठक रहेका थिए भने कार्यक्रमको अध्यक्षता पहिलो पाइला शिशु स्याहार केन्द्रकी सञ्चालक श्रीमती अंकिता सुमार्गीले गर्नुभयो।

समारोहमा हेटौँडा एकेडेमीका सञ्चालक श्री अरुणराज सुमार्गी, एकेडेमीका दिपेन्द्र पाठक, रेडियो थाहा संचारका स्टेशन म्यानेजर गोकुल अधिकारी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

क्याम्पमा पहिलो पाइलाका साथै हेटौँडाका अन्य विद्यालयहरूबाट समेत ४ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रममार्फत बालबालिकाहरूको प्रतिभा अभिव्यक्त हुने अवसर पाएको बताइएको छ।

सञ्चालक अरुणराज सुमार्गीका अनुसार यस्ता सिर्जनात्मक कार्यक्रमहरू आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। साथै, समर क्याम्पमा सहभागी बालबालिकाको गतिविधिहरू अभिभावकहरूमा प्रत्यक्ष पुर्‍याउने उद्देश्यले फोटो प्रदर्शनी तथा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रमको सफल सञ्चालनका लागि हेटौँडा एकेडेमीमा कार्यरत स्वास्थ्यकर्मीहरूले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। समग्रमा, क्याम्पमा १५० भन्दा बढी बालबालिकाहरूले गीत, संगीत, नृत्य र रमाइलो गतिविधिहरूमा सहभागिता जनाउँदै आनन्द उठाएका थिए।