Comments Add Comment

यसरी असफल भयो राजधानीका एटीएम रित्याउने योजना

शनिबार दिउँसो ४ बजे प्रहरी परिसर काठमाडौंमा आन्तरिक छलफल चलिरहेको थियो। त्यही बेला प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले खबर गरे, ‘हामीलाई अलिक डाउट लागेको छ, दरबारमार्गस्थित नविल बैंकको काउन्टरमा विदेशीजस्ता देखिने मानिसको बढी मुभमेन्ट देखिन्छ।’

त्यसलगत्तै काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीको टोली त्यसतर्फ ‘मुभ’ भयो। प्रहरी पुग्दा उक्त एटीएमबाट चिनिया नागरिक झु लियाङ्ग रकम निकालिरहेका थिए। उनलाई बाहिर निस्कनासाथ प्रहरीले पक्राउ गर्‍यो।

उनलाई प्रहरीले दोभासेको सहयोगमा सोधपुछ गरे पनि केही पत्तो पाएन। त्यसपछि झोला खोलियो। झुको साथमा ४५ हजार रुपैयाँमात्रै फेला परेको थियो। सुरुमा त वैधानिक तवरले नै रकम निकालेको अनुमान प्रहरीले गर्‍यो।

तर उनको झोलामा २० वटा नक्कली एटीएम कार्ड फेला परे। सँगै होटल माया म्यानोहरको कागजात पनि फेला परेपछि उनीहरू बसेको ठाउँ पत्ता लाग्यो।

त्यसपछि प्रहरी उनलाई दरबारमार्गमै छाडेर होटल म्यानोहर पुग्यो। काउन्टरमा जानकारी लिएर माथिल्लो तला चढ्दै गर्दा ४ जना चिनिया दुई वटा सुटकेस र तीन वटा झोला लिएर तल झर्दै थिए।

उनीहरूलाई त्यही रोकेर प्रहरीले बैंकबाट प्राप्त फोटो/भिडियोसँग उनीहरूलाई चेक गर्न थाल्यो। उक्त भिडियोबाट उनीहरूले पैसा निकालेको पक्का भयो।
चिनियाहरू लिन जियानमेङ, लुओ जियालेइ, क्यु युनकिङ र चेन बिन बिनलाई प्रहरीले कोठामै फर्कायो र झोला खोल्न लगायो। दुई वटा सुटकेसभरि छरपस्ट अवस्थामा रकम भेटियो। पक्राउ परेकामा सांघाईका २ जना र अरु ज्याङसुका छन्।

डिएसपी बोगटी भन्छन्, ‘यता अर्को मान्छे पक्राउ परेको जानकारी पाएर उनीहरू भाग्दै थिए। त्यही क्रममा पैसा मिलाएर राख्न पाएनन्।’
होटलमा पक्राउ परेका यी चार जना छैटौं तलामा बस्थे। अरु तीन जना दोस्रो तलामा बस्ने भएकाले प्रहरी नपुग्दै भाग्न सफल भए।

दरबारमार्गमा एटीएमस्थलमा पक्राउ परेका व्यक्तिसँग आफ्नो चिनजान नरहेको उनीहरूले बताएका छन्। झु पक्राउ परेपछि उनीसँगै एटीएमस्थल आसपास रहेका अरु तीन जना भागेको हुन सक्ने काठमाडौं प्रहरीको अनुमान छ।

डिएसपी बोगटी भन्छन्, ‘एक मिनेट ढिलो गरेको भए पक्रिन सम्भव नै थिएन।’ उनीहरूले नेपाली मोबाइल नम्बर प्रयोग नगरेकाले ट्रयाक सम्भव थिएन। यो गिरोह वीच्याट प्रयोग गरेर आन्तरिक सल्लाह गथ्र्यो। प्रहरी भन्छ, ‘शनिबार भएकाले हिजै उनीहरूको योजना राजधानीका सबै एटीएम ध्वस्त बनाउने थियो।’

शनिबार काम सक्ने। आइतबार मनोरन्जन गर्ने र सोमबार चीन फर्किने योजनामा उनीहरू थिए। यहीअनुसार कागजात प्रक्रिया पहिल्यै तयार थियो। होटलको बील पनि मिलाइसकेका थिए। उनीहरूको साथमा एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर फेला परेको छ। अन्य विभिन्न देशका मुद्रा, नक्कली भिसा कार्ड १३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थानलगायत पनि बरामद गरेको छ।

तर यो चोरीका मुख्य योजनाकार र ठगीको प्रणालीबारे हालसम्म बैंक र प्रहरी नै अन्योलमा छन्। दुवैले अनुसन्धान भइरहेको र आगामी दिनमा यसबाट कसरी जोगिने भन्नेबारे छलफल गर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमकुमार सुवेदीले बताए।

पहिलेको भन्दा खतरनाक गिरोह

नेपालमा एटीएम ठगी नौलो होइन। तर विगतको भन्दा फरक तरिकाबाट यसपटक रकम निकालिएको प्रहरी बताउँछ। पहिले पिनकोड चोरी गरेर एटीएमबाट रकम निकाल्ने गरेको पाइन्थ्यो। तर यसपटक सिस्टम नै ह्याक भएको छ। विगतको भन्दा यो खतरनाक छ।

बैंकको डाटा सिस्टम प्रयोग नगरी सिधै रकम निकालेका छन्। यसअघि भारतमा पनि ८० करोड नगद यसैगरी लुटिएको थियो। त्यहाँको घटनासँग मिल्ने प्रहरीको भनाइ छ।

राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्रका अनुसार एक करोड ६७ लाख ५४ हजार ७ सय २० रुपैयाँ उनीहरूले निकालेका छन्। तर कुन बैंकको कति रकम निकालिएको भन्ने प्रस्ट भइसकेको छैन।

ह्याकरले प्रयोग गरेका हरेक एटीएम खाली गराएका छन्। तर बैंकहरूले शंका गरे पनि यो घटनाबारे पत्तो पाइरहेका थिएनन्। आशंकामा प्रहरीलाई खबर गरेका थिए। तीन–चार जना मान्छे एउटै एटीएममा पटक–पटक गएपछि आशंका मात्रै गरेका थिए।

अन्य बैंकले पनि विभिन्न प्रहरी कार्यालयमा खबर गरेको पाइएको छ।

चिनिया गिरोह शुक्रबारमात्रै काठमाडौं आएको थियो। शनिबार बिदा हुने भएकै कारण पूरै तयारीका साथ उनीहरू आएको पाइएको छ। शनिबार बैंकिङ ट्रान्जेक्सन मनिटर गर्दैनन् भनेर उनीहरूले यो दिन रोजेका थिए।

तर यो घटनामा संलग्न यतिमात्रै होइनन् । डाटा ह्याक गरेर उनीहरूलाई दिने मान्छे अरु नै कोही रहेको प्रहरी अनुमान छ। पक्राउ परेकाहरू कमिसनका हिसाबले मात्रै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।

आइतबार उच्च अदालत पाटनमा ७ दिनको म्याद थप गरेर प्रहरीले उनीहरूमाथि अनुसन्धान अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर