Comments Add Comment

कविता- ओझेल परेका दृश्यहरु

न आँधीहुरिले,
न घामले छेक्यो
न थकाइ,
न झरिले रोक्यो!!
कठिन परिस्थितिलाइ पाखा लगाइ
सुनौलो बिहानी रोपेको
खै कस्ले देख्यो?

न पेटभरी खाना
न एकसरो लुगा नै छ!
छ त केवल,
आशाका त्यान्द्राहरु
कठिनाइका गाथाहरु!
अाँशुले भरिएका
गीतका भाकाहरु!!
ओइलाउलान कि खुशी भन्दै ती साझहरुमा
मलजल गरि छाडेको सपना
खै कस्ले देख्यो?

सुन्दर सपनाका महलहरु
खुशिका पहरहरु
बिनासिदै गएका
हासोका लहरहरु
अझै बाकी नै छन
पूर्णताका रहरहरु!
बिहानि मिरमिरेसङ्गै उदाएका बिश्वासका किरणहरुको
स्पर्श बिनानै ब्युझिएका नयनहरु
खै कस्ले देख्यो?

शुन्यतामा बिलाइएका
न्यायका शब्दहरु
दम्भ अनि रवाफमा दबाइएका
सत्यका अर्थहरु
न उहाँले देख्नुभयो
न तपाइले,
देखिएत केवल,
भत्काइएका बासहरु
झुण्डिएका सासहरु!!
निर्दोष ती जीवनहरुलाइ
जबर्जस्त दोषी बनाइएको
खै कस्ले देख्यो?

बाँकी रहेनन केही
आफ्ना भएनन केही
छट्पटिदा पिडामा मज्जा लिने देखिए
रुवाइले चिच्याउदा बल्ल खाइस् भन्ने भेटिए
न खुलेर हास्न सके
न खुलेर रुन नै
न डुलेर बाच्न सके
न खुलेर बोल्न नै
हुदा पनि साथ सबैको
वियोगले एक्लिएको मन
खै कस्ले देख्यो?

लेखक: सन्दिप दवाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर