गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ८ स्थित देउराली डाँडामा पर्यटन प्रवर्दन गर्नका लागि बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ ।

उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपाको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुपा, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।

स्तुपा निर्माणका लागि करिब रु डेढ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ एवं जुहाङ र हर्राचौरका नागरिकले स्तुपा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । स्तुपा निर्माणका लागि स्थानीय एवं युकेका लेफ्टेन हाल हङकङ बस्ने कुलबहादुर बुढाथोकीको नेतृत्वमा अहिलेसम्म रु ५५ लाख रकम जुटेको छ ।