पत्रकार पुडासैनीको भिडियो अरुको सहयोगले रेकर्ड गरेको देखिन्छ : अदालत

अनलाइन पत्र संवाददाता२०७६-०५-१० No Comments

पत्रकार शालिकराम पुडासैनीले अरुकै सहयोगमा आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ । सोही भिडियो भेटिएपछि उनको आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अनुसन्धानमा तानिएका थिए । सोमबार पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीविरुद्ध दायर मुद्दामा आदेश दिँदै अदालतले पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको ठहर गरेको हो ।

त्यस्तै आदेशमा भिडियो रेकर्ड गर्दा र आत्महत्या गर्दाको मनस्थिती फरक रहेको भन्दै भनिएको छ, “भिडियो रेकर्ड गर्दा निजको मनस्थिती र निजले आत्महत्या गर्दाको अवस्थामा निज भित्री वस्त्रमा  देखिएको  अवस्था र आत्महत्या गर्दा निजको झुण्डिएको लाशमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितीको बदलावको अवस्थापछिको मृत्युकालिन घोषणालाई सोसँग सम्बन्धित अन्य कानुन नजोडिँदासम्म सोही भनाईलाई मात्र निर्णायक प्रमाणका रुपमा ग्रहरण गर्न नसकिने अवस्थामा त्यसरी समर्थित हुने अन्य प्रमाण मिसिल समर्थन हुने देखिएन ।”

पुडासैनीले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख नभएको पनि आदेशमा उल्लेख छ । प्रमाण ऐन ०३१ को दफा (११) मा मरेको व्यक्तिले आफु मर्नुभन्दा पहिले, मर्न लागेको अवस्थामा, होस छँदै मृत्युको कारणका बारेमा व्यक्त गरेका भनाईलाई प्रमाणमा रुपमा लिन सकिने व्यवस्था छ । पुडासैनीले कति समय अघि भिडियो रेकर्ड गरी कति समय पछि आत्महत्या गरेका थिए समय एकिन नभएको सो भिडियो मृत्युकालिन घोषणा हो की होइन भन्ने  एकिनन नसकेको फैसलामा जनाइएको छ ।

भिडियोको फरेन्सिक र पुडासैनीको शव परिक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणका रुपमा अदालतले थप परिक्षण गरेपछि मात्र सोबारे एकिन गर्न सकिने फैसलामा भनिएको छ ।  कार्की साधारण तारेखमा रिहा भएकी छन् भने लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् ।

Chat Icon
Ad
Ad