बन्द भएको १२ वर्षपछि सूदुरपश्चिमको विकट पहाडी जिल्ला बझाङको देवल विमानस्थलबाट नियमित उडान शुरु भएको छ । बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान गरिएको र मंगलबार देखि नियमीत उडान शुरु भएको बताए । मंगलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताए । भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताए । समिट एयरले मंगलवारदेखि धनगढीबाट देवल विमानस्थलमा उडान शुरु गरेको हो । गएको शनिवार विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहित सहभागि भएका थिए । २०६५ सालदेखि बन्द विमानस्थल कालोपत्रे गरिएपछि मंगलवारबाट नियमित उडान शुरु भएको हो ।