दक्षिण भारतीय स्टार विजय कर छलीको आरोपमा विवादमा फसेका छन् । हालै तमिल नाडुमा एक फिल्मको छायांकनमा रहेका विजयको घरमा इनकम ट्याक्सका अधिकारीले छापा मारेका छन् । छापा मारेपछि विजयले फिल्मको छायांकन बीचमै छोड्नुपरेको छ । भारतीय मिडियाका अनुसार रेड ९छापा० मारेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ ।
यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो । इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो । भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो । रिपोर्टसका अनुसार विजयसँग सोधपुछ चलिरहेको छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो । यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।