नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै

अनलाइन पत्र संवाददाता२०७७-०९-०६ No Comments

बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने सरकारले तयारी गरेको छ । नौ महिनादेखि बन्द रहेको सवारी अनुमतिपत्र लाईसेन्स सुरु गर्न लागिएको हो । गत चैत देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन ।

यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेको छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ ।

Ad
Ad