
महान् दार्शनिक अरस्तु भन्छन्, ‘प्राकृतिक रूपमै सबै मानिस ज्ञानआर्जन गर्न चाहन्छ ।’ ओशो भन्छन्, ‘जबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी हुन कहलाउँदैनौं ।’ उनी अगाडि भन्छन्, ‘तिमी किताब लिएर आफूलाई व्यस्त देखाउँदैमा विद्यार्थी हुन सक्दैनौ । त्यो किताबबाट के ज्ञान लिन सक्यौ, त्यो महत्त्वपूर्ण हो ।’
कतिपय अभिभावकलाई छोराछोरीले किताब लिएर बसिदिए पढेको हुने र किताब लिएको नदेख्ना साथ पढेन भनेर कराउने अभिभावकलाई राम्रो शिक्षा हो यो । ओशो थप्छन्-परीक्षाको प्रश्नपत्र सबैको लागि एकै हो, तर जिन्दगीको प्रश्न सबैको लागि एकै हुँदैन, त्यसैले परीक्षाले तिम्रो जीवनको लक्ष्य र उद्देश्यलाई प्रमाणित गर्न सक्दैन । दैनिक जीवनबाट तिमीले केही न केही सिकेकै हुन्छौं, तर यो जरुरी छैन कि तिम्रो विद्यालयको परीक्षामा यो सिकाइले काम गरोस् । जीवनका हरेक सिकाइले तिम्रो सफलताको बाटो खुल्ने छ ।
विद्यार्थीको उमेर भनेको शारीरिक, मानसिक र वैचारिक रूपमै शारीरिक वृद्धि र हार्मोनको परिवर्तनको उमेर भएको हुँदा छिट्टै तनाव सिर्जना हुने,पढाइमा मन नजाने र दिक्दारको अवस्था अनुभव गर्ने खालको उमेर हो । यसबारेमा कमै मात्र विद्यार्थीलाई थाहा हुन्छ । यदी उनीहरू स्वयंलाई थाहा हुन सकेमा आफ्नो मनस्थितिप्रति आफैं सजक रहन सक्छन् र आफ्ना कमजोरी सुधार्न सक्छन् । यस्तो खालको मनोवैज्ञानिक शिक्षा दिने प्रचलन नेपालमा अझैसम्म नभएको पाइन्छ । एसएलसीसँग संघर्ष गर्ने भनेको पहिलो व्यक्ति नै विद्यार्थी स्वयं भएकोले पढाइ असजिलो चिज होइन भन्ने भावनाको विकास गर्नका लागि केही कुरा थाहा पाउनु जरुरी हुन्छ ।
सही तयारी सर्वप्रथम त विद्यार्थीले आफ्ना पुस्तक,नोट कापीहरू, पेन, पेन्सिल, शब्दकोषलगायतका आवश्यक सामाग्री आफ्नो कोठामा या पढाइ कोठामा जतिबेला जे खोजे पनि भेटिने गरी तयारी अवस्थामा राख्नुपर्छ । विषयअनुसारका पुस्तक र सम्बन्धित नोटकापी एवं अन्य वस्तु छुट्याएर राख्नुपर्छ ताकी खोजेको बेलामा र पढ्नुपर्ने बेलामा भेटियोस् । परीक्षा दिन चाहिने प्रवेश पत्रदेखि घडी,क्यालकुलेटर, रफ पेपर जस्ता आवश्यक सामान सधैं तयारी अवस्थामा भयो भने कहिल्यै तनावको स्थिति आउँदैन ।
कक्षामा ध्यान दिने विद्यार्थीले सधैं कक्षामा शिक्षकले अध्यापन गराइरहेको बेला ध्यान दिनु जरुरी छ । उमेरको कारण पनि मन चन्चल हुन्छ । साथीभाइको क्रियाकलापमामा ध्यान जान्छ,पढाइमा एकोहोरो ध्यान लगाउन मुस्किल हुन्छ । त्यस्तो अवस्थामा लामो गहिरो स्वास २/३ पटक लिने, सेकेन्डको निम्ति आँखा बन्द गर्ने र फेरि २/३ पटक लामो गहिरो स्वास लिने गर्नुपर्छ । यसले ध्यान केन्द्रित हुन मद्दत पुग्छ ।
उद्देश्यमा लगनशीलता विद्यार्थीको उद्देश्य आफ्नो पढाइ पूरा गर्नु हो । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन विद्यार्थीको, किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्न भविष्यमा नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ ।
अनुशासन विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । कक्षा कोठामा हल्ला नगर्ने, पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने अनुशासनका गुण हुन् । त्यस्तो गर्न सकेमा शिक्षकलाई पनि कुन विद्यार्थीको स्तर कस्तो छ थाहा पाउन सजिलो हुन्छ ।
शिक्षकसँग सल्लाह लिने कक्षामा आफू मात्रै नहुने भएकोले अरू साथीहरू कस्ता छन्, साथीहरूले गर्दा कक्षा हल्ला हुन्छ या नबुझ्ने साथीहरू धेरै छन् भने कसरी कक्षाकोठा र पढाइ प्रभावकारी हुन्छ, शिक्षकसँग सल्लाह गर्ने विद्यार्थी सफल र असल विद्यार्थी हो । साथीहरूको समूह बनाएर समूहमा अध्ययन र छलफल गर्नाले पनि धेरै कुरा बुझ्न सजिलो हुन्छ ।
नियमित नोट बनाउने कक्षामा पढाइएको प्रत्येक विषयको बारेमा नोट बनाउने र बेलाबेलामा त्यसलाई पढ्ने र समीक्षा गर्नुपर्छ । नोट बनाउनाले नबुझेका कुरा फेरि शिक्षकसँग सोध्न सकिन्छ भने बुझेका कुरामा अरू प्रष्ट भइन्छ । नोट तयार पार्नु सफल विद्यार्थीको एउटा गुण हो । किनभने दिनभर कक्षामा पढेका कुरा साँझसम्म बिर्सिन सकिन्छ । त्यसैले नोट बनाउने बानीले धेरै सहयोग पुग्छ ।
अभिभावकसँग सबै कुरा खुलेर व्यक्त गर्ने अपवादको रूपमा बाहेक कुनै पनि अभिभावक आफ्ना छोराछोरीको पढाइ कस्तो छ होला भनेर नजिकबाट बुझ्न र जान्न चाहन्छन् त्यसैले दिनभर विद्यालयमा केके भयो सेयर गर्दा उनीहरू खुसी हुन्छन् । शिक्षकसँग बुझेको कुरा या नबुझेको कुरा, साथीसंगतको कुरा या विद्यालय वातावरणको कुरा सबै अभिभावकसँग सेयर गर्ने विद्यार्थी असल विद्यार्थी र असल सन्तान पनि हो । विद्यालयका कुरा मात्र होइनन् आफ्ना व्यक्तिगत समस्या पनि अभिभावकसँग खुलेर व्यक्त गर्नुपर्छ । किनकि अव्यक्त भावना र मनभित्रका कुरा नभनेसम्म बुझ्न गाह्रो हुन्छ ।
समयको पालना र धैर्यता समयको व्यवस्थापन विद्यार्थीको एउटा महत्त्वपूर्ण गुण हो । कक्षाकोठामा समयमा प्रवेश गर्ने, गृहकार्य, कक्षाकार्य समयमै गर्ने, खाजाखाने छुट्टीमा समयमा सकाउने र समयमा कक्षाकोठामा हाजिर हुने, घरबाट विद्यालय समयमै निस्कने, विद्यालय छुट्टी भएपछि समयमै घर पुग्ने बानी बसाल्नुपर्छ । जसले गर्दा शिक्षक र अभिभावकप्रति नै आफ्नो बारेमा विश्वास बढ्छ । समयको पालना गर्नाले धैर्यताको विकासमा सघाउ पुर्याउँछ ।
परिक्षा तनाव होइन, एउटा खुड्किलो माथि जति बुँदागत कुराहरू उल्लेख गरे पनि महत्त्वपूर्ण कुरा के हो भने तीन घन्टाको एसएलसी परीक्षाले जीवन निर्धारण गर्ने होइन, तर एसएलसी उच्च अध्ययनका लागि एउटा खुड्किलो भएकोले विना तनाव, ध्यानपूर्ण तरिकाले एसएलसीको तयारीमा लाग्नुपर्छ । सकारात्मक सोचाइ र स्वस्थ खाना अनि शरीरको स्वास्थ्यमा पनि ख्याल पुर्याउनु विद्यार्थीको कर्तव्य हो ।
दिनमा ७/८ पटक खुलेर हास्ने, कक्षाकोठामा बस्दा पनि बीचबीचमा पानी पिउने, बाथरुम जाने, फुर्सदको समयमा एकछिन साथीहरूसँग खेल्ने, बेलाबेलामा पानी पिउने र सम्झेर बेलाबेलामा लामो गहिरो स्वास लिने बानी गर्दा स्वस्थ,स्वच्छ र फूर्तिलो अनुभूति हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




