Comments Add Comment

प्रधानमन्त्री पदले फुटाएको ओली–दाहाललाई प्रधानमन्त्रीले नै जुटायो

ओलीले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि सुरु भएको असन्तुष्टि उत्कर्षमा पुगेर टुटेको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध प्रधानमन्त्री पद दिएर फेरि सुरु भएको छ। २०७४ सालमा वाम गठबन्धन बनाएर चुनावमा जानुअघि नै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भविष्यमा पार्टी एकता गर्ने र प्रधानमन्त्रीमा आधा–आधा कार्यकाल बाड्ने सहमति भयो। वाम गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्याएर ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन गर्‍यो।

पूर्व समझदारीअनुसार २०७५ जेठ २ गते एमाले र माओवादी एकीकरण गरेर नेकपा बनाए। ओलीले सझदारीअनुसार साढे दुई वर्ष सरकारको नेतृत्व गरेपछि अर्थात् २०७७ भदौ ताका प्रचण्डलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्नुपर्थ्यो। तर त्यसअघि नै ओलीले दाहाललाई सहमतिअनुसार प्रधानमन्त्री नदिने निर्क्यौल गरे।

दुई नेताबीच असमझदारी बढ्यो, अन्ततः पार्टीको सम्पूर्ण नेतृत्व दिने ओलीको आश्वासनमा परेर दाहालले आधा कार्यकाल प्रधानमन्त्री पाउने दाबी छाडे। २०७७ भदौमा महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले ओलीले सरकार पाँचै वर्ष र दाहालले पार्टी चलाउने लिखित प्रस्ताव तयार पार्‍यो। प्रस्तावलाई पार्टीले अनुमोदन गर्ने तर सहमतिअनुसार ओलीले प्रचण्डलाई पार्टीको नेतृत्व दिएनन्। यदि त्यतिबेला ओलीले पूर्वसहमतिअनुसार दाहाललाई प्रधानमन्त्रीको कुर्सी छाडेको भए नेकपा र नेपालकै राजनीतिक यात्रा फरक बाटोबाट अघि बढ्थ्यो।

अलि पछि कार्यकारी बनाउने निर्णय गरे तर लगत्तै त्यो पनि उल्लंघन गरे। जसले गर्दा ओली दाहालबीच दूरी बढ्दै गयो। ओलीबाट लगातार धोका पाएपछि पहिल्यैदेखि ओलीको पेलाइ खाएका वरिष्ठ नेता माधव नेपाल र दाहाल एक ठाउँ उभिए। ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने कोशिस गर्दा संसद विघटनदेखि नेकपा तीन टुक्रा हुन पुग्यो। प्रचण्ड–माधवले ओलीको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइ दिए। एमालेका विरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धन बनाएर मंसिर ४ मा चुनाव लडे।

तर चुनावपछिको प्रधानमन्त्री को हुने भन्ने विषयमा कुरा नमिल्दा ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। करिब २८ महिनाअघि ओलीले दाहाललाई प्रधानमन्त्री नदिँदा सुरु भएको बवण्डर र तित्तता प्रधानमन्त्री पाएसँगै अन्त्य भएको छ। ओलीले कोर्ष करेक्सन गरेका छन्।आइतबार गठबन्धनमा निर्णायक कुरा गर्न बालुवाटार पुगेका दाहाललाई देउवाले पहिलो दुई वर्ष प्रधानमन्त्री दिन अस्वीकार गर्दा काउण्टरमा बालकोट पुगेर प्रधानमन्त्री खाए।
आइतबार ओली निवास बालकोटको बार्दलीबाट सहयात्रा सुरु भएको सन्देश दिँदै दुई नेता। २०७८ असारमा दाहाल–नेपालका कारण प्रधानमन्त्रीबाट हट्नु परेपछि ओलीले यही बार्दलीमा बसेर उनीहरुविरुद्ध चर्को भाषण गरेका थिए।

बालुवाटारबाट उठेका दाहाललाई ओलीकै अग्रसरतामा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ जना सांसद र तीन जना स्वतन्त्र सांसदले समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरे। २०७८ असारमा ओलीलाई बालुवाटारबाट बार्दलीमा पुर्‍याएका दाहालले आइतबार दुई वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चित गरेर त्यही बार्दलीमा ओलीसँगै उभिएर पुनः सहयात्रा सुरु भएको सन्देश दिए।

यसपटक ओली दाहालको सहयात्रा सत्ता समीकरणमा मात्रै सीमित हुन्छ कि विगतमा जस्तै पार्टी एकतासम्मै पुग्छ भन्ने कुरा भविष्यले नै देखाउला। ओलीविरुद्ध सँगैसँगै लडेका माधव नेपाल दाहाल प्रधानमन्त्री नियुक्त हुने बेला भने सँगै भएनन्

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै