औपनिवेशिकता विरुद्ध पटक–पटक आवाज उठाए पनि राज्यले औपनिवेशिकता लादेको–थोपरेको भन्दै च्योवाङ राष्ट्रिय परिषद् विद्रोहमा उत्रिने भएको छ । शनिबार हेटौडामा परिषद्ले पत्रकार सम्मेलन गर्दै अब पनि आफ्ना जायज मागहरु सम्बोधन नभए नयाँ विद्रोहमा उत्रिने घोषणा गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यदि राज्यले जायज माग तथा मुद्दाहरुलाई लोकतान्त्रिक मूल्य र मान्यता मुताविक अविलम्व सम्वोधन नगरिएमा हामी विभिन्न चरणको संघर्ष गर्न बाध्य हुनेछ । यसपटक हाम्रो संघर्ष फगत औपनिवेशिक राज्यलाई आफ्नो माग सम्बोधनको निमित्त अनुरोध गर्ने विषयमा मात्र सीमित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधान, नियम र कानुनको जगमा आफ्नो स्व–घोषणाको आत्मनिर्णय अधिकार प्रयोग गर्दै च्योबङ स्वायत्त क्षेत्र घोषणा गर्ने हुनेछ ।’
राज्यको औपनिवेशिकताले च्योवाङ जातिहरुको राजनैतिक स्वशासन मात्र नभई आर्थिक, सामाजिक–सांस्कृतिक प्रणाली ध्वस्त पारिएको परिषद्का संयोजक गाब्रियल च्योबङले विज्ञप्ति मार्फत भनेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि च्योबङ समुदायमाथिको औपनिवेशिकता जारी रहेको पनि उनले विज्ञप्तिमा भनेका छन् ।
च्योवाङ जातिका पुर्खाहरुले जन्माएको, बचाएको ऐतिहासिक भूमी, भू–क्षेत्र, श्रोत र सांस्कृतिक पहिचान तथा स्वशासित शासन प्रणाली माथि राज्यले औपनिवेशिकता थोपर्ने काम भएको भन्दै लामो समयदेखि राज्यलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएको पनि भनिएको छ । ‘हामी च्योवाङ जनताहरु आफैमा एक गौरवशाली राष्ट्र हौँ । हाम्रो ऐतिहासिक भूमी, भूक्षेत्र र श्रोतहरुको सापेक्षतामा हाम्रा पुर्खाहरुले विकास गरेका विशिष्ट सांस्कृतिक पहिचान तथा शासन प्रणालीबाट स्वशासित हामी च्योबङ राष्ट्रमाथि राज्य औपनिवेसिकता थोपर्ने काम भयो,’ विज्ञप्तिमा भनिएको छ ।
परिषद्ले राज्यसँग ७ बुँदे मागहरु पनि जारी गरेको छ । ७ बुँदे मागहरुअन्तर्गत आफ्नै स्व–देश, स्वतन्त्र, औपनिवेशिक मनोमानी सत्ता पूर्णरुपमा खारेज, दुई प्रदेश, चार जिल्ला तथा विभिन्न नगर तथा गाउँ पालिकामा विभाजन गर्ने कार्य प्रति गम्भीर असहमति, च्योबङ स्वशासन विधानको आधारमा च्योवाङ स्वायत्त क्षेत्र रहेका छन् ।
त्यस्तै, विकासको बहानामा विनासकारी योजना मार्फत च्योबङलाई विस्थापन गर्ने काम तत्काल बन्द गर्न पनि माग गरिएको छ । सामुदायिक वन, राष्ट्रिय निकुन्ज, राष्ट्रिय गौरवको आयोजना, औद्योगिक क्षेत्र, खानीलगायत विभिन्न बहानामा खोसिएका च्योबङहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरु तुरुन्त फिर्ता गर्न पनि विज्ञप्तिमार्फत राज्यलाई भनिएको छ । च्योबङ चेपाङ समुदायभित्रकै एक सदस्य रहेता पनि आफूलाई च्योवाङका रुपमा परिचित गर्दै आएको छ । च्योबङ जाति हाल नेपालको धादिङ, गोरखा, चितवन, मकवानपुरलगायत क्षेत्रमा थातथलो बनाइबसी आएका छन् ।
च्योवाङ जातिका पुर्खाहरुले जन्माएको, बचाएको ऐतिहासिक भूमी, भू–क्षेत्र, श्रोत र सांस्कृतिक पहिचान तथा स्वशासित शासन प्रणाली माथि राज्यले औपनिवेशिकता थोपर्ने काम भएको भन्दै लामो समयदेखि राज्यलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएको पनि भनिएको छ ।