अमलेखगञ्ज । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको इन्धन डिपोसम्मको पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन तयार गरिएको प्रोसेसिङ एरिया सञ्चालनकाे लागि तयारी अवस्थामा रहेकाे छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उद्घाटन यही भदौ २४ गते भाेली हुँदैछ ।
मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनको अन्तिम परीक्षणको काम सकिसकेकाे छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपलाइनमा पानी र डिजेल पठाइएको थियाे ।
कदेखि चर्चामा रहेको पेट्रोलियम पाइप लाइन २०७२ भदौ ७ मा भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधान र नेपालका तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाबीच निर्माण गर्ने सम्झौता भएको थियो ।
त्यसलगतै तराईमा क्षेत्रमा भएको राजनीतिक आन्दोलन र भारतको नाकाबन्दीले पाइप लाइन निर्माण प्रभावित भएको थियो । निगमका अनुसार २०७४ पुसमा आईओसीले महोत्तरी डिपोबाट सुरु गरेको थियो । त्यसपश्चात नेपालतर्फ पनि निर्माण सुरु गर्न आईओसी र निगमका टोलीबीच तीव्र छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पुनः समयमै निर्माण सम्पन्न गर्ने सहमतिस्वरूप मिलेरै शिलान्यास गरेका थिए । त्यसपश्चात् पाइप लाइन निर्माण प्रक्रियाले गति लिएको हो । निगमका अनुसार पाइप लाइनबाट आउने तेल भण्डारण गर्न अमलेखगन्जस्थित आयल निगम डिपोमा स्टोरेज ट्यांक निर्माण गरिँदै छ ।
कुल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्यांक निर्माण भइसकेकाे छ । ४ ट्यांकमध्ये ४ हजार १ सय किलो लिटर क्षमताका र ३ हजार ९ सय किलोलिटर क्षमतामा ट्यांकहरू तयार भइसकेको छ ।
यो परियोजनाअन्तर्गत २०७४ फागुन २५ देखि पाइप लाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइप लाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको छ । हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदै छ । ६ लेन सडकमुनि परियोजनाको पाइप पुरिएको छ । पाइप जमिनमुनि अढाइ मिटर भित्र गाडिएको छ ।
इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चांलित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ र परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु रहेको छ ।
पाइप लाइन सञ्चालनमा आएपछि हाल नेपालले इन्धन ढुवानीमा खर्च गर्दै आएको वार्षिक २ अर्ब रुपैयाँ जोगिने अनुमान गरेकाे छ ।