सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान चलाउँदै छ । चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो। आजदेखि २९ जेठसम्म चल्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकामा मात्रै एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। देशभर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकको संख्या चार लाखभन्दा धेरै छ। चीनले अनुदानमा दिएको १० लाख डोज खोप उनीहरुलाई लगाउन लागिएको हो।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएको थियो। तर, खोपले नपुग्ने देखिएपछि उपत्यकामा ६० देखि ६४ र बाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जान भनेको हो। खोप लगाउन जाँदा अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार खोप लगाएपछि झन्डै आधा घण्टासम्म खोप केन्द्रमै बस्नुपर्छ। घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुनु पर्ने मन्त्रालयले जनाएको छ।