Comments Add Comment

बुन्डेसलिगामा युनियन बर्लिनको पहिलो जित

युनियन बर्लिनले जर्मन बुन्डेसलिगाको इतिहासमा पहिलो जित हासिल गर्ने क्रममा गए राति बोरुसिया डर्टमन्डलाई स्तब्ध पारेको छ।

यसैपालीमात्र प्लेअफमार्फत शीर्ष डिभिजनमा बढुवा भएको टोलीका लागि मारियोस बटलरले २२औं मिनेटमा अग्रता दिलाएका थिए। उनले क्रिस्टोफर ट्रिमेलको कर्नरलाई गोलमा परिणत गरेका थिए।

पाको अल्कासरले जाडोन सान्चोको क्रसलाई गोलमा परिणत गर्दै २५औं मिनेटमा खेल बराबरीमा ल्याए। तर बट्लरले ५०औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट अर्को गोल गर्दै युनियन बर्लिनलाई दोस्रो पटक अग्रता दिलाए। सेवास्टिन एन्डरसनले समय सकिन १५ मिनेट बाँकी रहँदा अर्को गोल थपेपछि घरेलु मैदानमा बर्लिनको पहिलो बुन्डेसलिगा जित पक्का भएको थियो।

आरबी लिपजिगले तेस्रो खेलसम्म सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिने क्रममा बोरुसिया मोन्चेनग्लाडबाचलाई ३–१ को नतिजामा हरायो। शीर्ष टोली लिपजिगको जितमा जर्मनीका अन्तर्राष्ट्रिय स्ट्राइकर टिमो वेर्नेरले ह्याट्रिक गरेका थिए।

३८औं मिनेटमा गोलको खाता खोलेका वेर्नेरले ४७औं मिनेटमा दोस्रो गोल गरेका थिए। इन्जुरी समयमा अर्को गोल गर्दै उनले व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए। पराजित मोन्चेनग्लाडबाचका लागि ब्रिल इम्बोलोले अन्तिम मिनेटमा गरेको गोल सान्त्वनामा सिमित भयो।

जर्मन बुन्डेसलिगामा गए राति नै सम्पन्न अन्य खेलमा साल्केले हार्था बर्लिनमाथि ३–० को विजयी नतिजा निकाल्दा एफसी कोल्नले फ्रेइबर्गमाथि २–१ को जित हासिल ग¥यो।

उल्फसबर्ग र एससी पेडेरबर्नले १–१ को बराबरी नतिजा निकाल्दा बायर लेभरकुसन र होफेनहेइमले गोलरहित बराबरी खेले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर