राक्सिराङ गाउँपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम

अनलाइन पत्र संवाददाता२०७७-११-०९ No Comments

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ।

पालिकाले आगामी शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याउने गरी कक्षा १ देखि ५ सम्मका लागि ‘मेरो राक्सिराङ’ नामक पाठ्यपुस्तक तयार पारेको हो। राक्सिराङ स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्ने मकवानपुरको पहिलो पालिका हो।

पाठ्यपुस्तकमा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका ज्ञान समेटिएको छ।

यस्तै, गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र,चट्याङ, बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोला नालालगायतको जानकारी पनि पाठ्यपुस्तकमा समेटिएको छ।

स्थानीय पाठ्यक्रममा सीमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवर्द्धक सामाग्री समेटिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ। त्यस्तै दफा ११ (ज) १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ।

कानुनी अधिकारको प्रयोग गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत प्रदीप पराजुलीले जानकारी दिए।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

गाउँपालिकाका ४ वटा विद्यालयमा नमूना कार्यक्रमको रुपमा यसै शैक्षिक सत्रदेखि कक्षा–१ देखि ५ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन शुरू भइसकेको छ। खैराङको कालिका मावि, सिलिङ्गेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजा कल्याण आधारभूत विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाई थालिएको हो।

पालिकाका अध्यक्ष मल्लका अनुसार आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाको सबै ५२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म ऐच्छिक अंग्रेजी विषयलाई हटाएर स्थानीय पाठ्यपुस्तकको पढाई शुरू हुनेछ।

पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जापानको शान्ति भोलेन्टियर्स एशोसिएशन र समुन्नत नेपाल दातृ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो।

पाठ्यपुस्तक निर्माण भएपछि पालिकाका सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई शिक्षण सम्बन्धी तालिम पनि दिइएको जनाइएको छ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad