बाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन पर्वर्द्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उनको भनाइ छ ।
त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन पर्वर्द्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उनको भनाइ छ । प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम शुरु गरिने जानकारी दिए ।मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्बर्द्धन आवश्यक रहेको उल्लेख गरे । चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने उनले बताए । पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उनको भनाइ थियो ।
“हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् । आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग बनाइएको थियो । त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।