Coronavirus COVID-19

कविता : ऐना अगाडि -निमेष निखिल

[Ads]

जीवनका रहरहरुमा जति मलजल गरे पनि
आत्मामा जति उमारे पनि हरिया सोचका बिरुवा
बाहिरी आवरणभरि पोतेर भलादमीपन
हामी आडम्बरहरुको प्रदर्शनमा व्यस्त छौँ ।

छुटिसकेको छ चिन्तनको चौतारो
फुटिसकेको छ विचारको चस्मा
हाम्रा काँधले अब-
जिम्मेवारी बोक्न इन्कार गरिसकेका छन्
रामरमिता बास बसिसकेका छन् आँखाहरुमा
आदर्शको खोक्रो सुरूवाल फाटेर कुरिकुरी भइसकेको छ
र पनि अर्थहीन अभिनयका अभिनेता बनेकै छौँ हामी ।

कति चढ्यौँ चढ्यौँ चियागफका सगरमाथा
बर्सौँ भो आफ्नै घरको चुहिने छानो टाल्न सकेका छैनौँ
कति छाट्यौँ छाट्यौँ देशै हरियाली बनाउने भाषण
आफ्नै करेसाको फूलमा पानी हाल्न सकेका छैनौँ
र पनि सबैलाई उछिन्दै गफको म्याराथन दौडेकै छ हाम्रो ।

धैरै पछि ऐनाअघि उभिँदा आफूलाई अत्यन्त कुरुप देखेँ मैले
खोपिल्टा मात्र थिए आँखामा, सपना थिएनन्
चाप्लुसी टाँगिएको थियो ओठको क्षितिजभरि, मुस्कान थिएन
र त्यहाँ झुन्डिएको थियो एउटा ठुलो ताल्चा
नाक त झन् छँदै थिएन, म कहाँ हुनु
त्यसै दिनदेखि मैले म आफैँ सिद्धिएको घोषणा गरेको छु ।

भन मित्र
तिमीले ऐना नहरेको कति भयो ?

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...